ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु: स्वास्थ्यमन्त्री पाठक

पाेखरा | असोज ११, २०८१

ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु: स्वास्थ्यमन्त्री पाठक

पोखरा:    गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना भएपछि आवधिक योजना बनाएर काम अघि बढाउने सुनाएका छन् । 


स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ मा गरेका कामको समीक्षा गोष्ठीको समापनमा बोल्दै बिहीबार मन्त्री पाठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने बताए । 


उनले आवधिक योजना बनाउँदा प्रदेशको बजेट हेरेर तयार गर्ने र ठूलो सपना नदेख्ने बताए । 


‘म मन्त्री भएको २३ दिन भयो । अबको एक हप्ताभित्र कार्ययोजना तयार हुन्छ,’ मन्त्री पाठकले भने, ‘ठूलो सपना नदेखी जे प्रदेश सरकारसँग बजेट छ, जहाँ बजेट विनियोजन भएको छ त्यसलाई पूर्णत खर्च गर्ने गरेर, सदुपयोग गर्ने गरेर अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका साथ काम गर्ने सोचाइ बनाएको छु ।’ 


स्वास्थ्य मन्त्रालयले छुट्टै अस्तित्व पाएकाले आत्मबल, इच्छाशक्तिसहित काममा लाग्न उनले स्वास्थ्यकर्मीलाई आग्रह गरे । 


अस्पताल, स्वास्थ्य कार्यालय, प्राकृतिक चिकित्सालय, आयुर्वेदसहित स्वास्थ्य क्षेत्रमा समस्याको फेहरिस्त लामो रहेकाले त्यसलाई सम्बोधन गर्न सामूहिक सहकार्य आवश्यक रहेको मन्त्री पाठकले बताए । 


जनतासँग जोडिएर काम गर्ने स्वास्थ्यकर्मीको मनोबलमा गिरावट आउने कुनै काम नगर्ने मन्त्री पाठकले प्रतिबद्धता जनाए । 


‘स्वास्थ्य स्वयंसेविका जसले जनताको स्वास्थ्यको पहिलो सूचना लिएर स्वास्थ्य केन्द्रमा जान अभिप्रेरित गर्छ त्यस तहलाई हामीले विशेष ध्यान दिनुपर्ने छ भन्ने मलाई लाग्छ,’ उनले भने ।  


आयुर्वेद चिकित्सा, आयुर्वेद उपचार पद्धतिलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री पाठकको भनाइ थियो । भौतिक सेवासुविधा पाउन नसके त्यसले परिणाम पनि दिन नसक्ने मन्त्री पाठकले बताए ।

 
‘हाम्रा कति कार्यालयमा पुराना गाडी चढ्नुभएको छ । थोत्रा मोटरसाइकल चढ्नुभएको छ । आयुर्वेद संस्था हेरेँ । त्यहाँ एउटा पनि गाडी छैन । २०–३० वर्ष पुरानो भएपनि हुनुपर्ने त्यो छैन,’ उनले थपे, ‘एक–दुई ठाउँमा अत्यन्तै थोत्रा मोटरसाइकल छन् । आज मर्मत गरेर चलायो भोलि फेरि मर्मत गर्नुपर्ने खालको साधनको अवस्था छ । जनताको घर पुग्न, औषधि ठाउँमा पु¥याउन, जनशक्ति ठाउँमा पु¥याउन गाडीको व्यवस्था हुन आवश्यक छ ।’ 


मन्त्री पाठकले स्वास्थ्यकर्मी आफ्ना सिपाही भएको र उनीहरूको सक्रियता नभई लडाइँ स्वास्थ्य क्षेत्रका समस्यालाई नजितिने जिकिर गरे । जनतासँग जोडिने भएकाले स्वास्थ्य कार्यालयको नाम फेरेर जनस्वास्थ्य कार्यालय राख्ने योजना रहेको उनले सुनाए ।  


तीन दिनसम्म चलेको गोष्ठीमा मन्त्रालयअन्तर्गतका कार्यालय, अस्पताल, आयुर्वेद केन्द्रलगायतका प्रगति, आगामी कार्यदिशा, समस्याबारे छलफल, स्वास्थ्य सेवासँग सम्बन्धित विषयमा प्यानल बहस, विभिन्न रोगको अवस्था र नियन्त्रणका उपायलगायत विषयमा छलफल भएको थियो । 


गोष्ठीको अन्तिम दिन बिहीबार गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय, आयुर्वेद केन्द्र, पालिका, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्